संसदको हिउँदे अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची

माघ २२, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दैछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । बैठक ढिलो बोलाइएकाले शीर्ष नेताहरुले आज सम्बोधन गर्ने छैनन् । यद्दपि आगामी २४ गतेको बैठकमा मात्र सम्बोधन गर्ने तयारी छ ।

यस्तै, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

यस्तै, बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन० अध्यादेश, २०८० पेस गर्ने र त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.