विहिबारदेखि स्वस्थानी व्रत सुरू हुँदैः शालिनदि मेला व्यवस्थापनको तयारी पूरा

भीम लामा,
माघ ९, साँखु । पौष शुल्क पूर्णिमा दिन (माघ ११ गते ) श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैैछन् ।

मंगलबार श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदि सुधार समितिले पत्रकार सम्मेलन गर्दै एक महिनासम्म चल्ने व्रत तथा मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ । आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापनको तयारीमा लागेको बताएको छ । शालिनदि मन्दिर परिसरमा महिला तथा पुरूष व्रतालुका लागि पूजापाठ तथा दर्शनको व्यवस्थापन गर्न सहज वातावरण हुने बताएको छ ।

विभिन्न स्थानबाट आएका व्रतालु तथा भक्तजनको सुरक्षा तथा व्यवस्थापनलाई मध्यनजर राख्दै शालिनदि सुधार समितिले विभिन्न उपसमिति बनाएर कार्य गरिने समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । ए्ेतिहासिक, साँस्कृतिक तथा धार्मिक महत्वले चिनिएको पवित्र स्थल साँखु स्थित शालिनदिमा एक महिनासम्म हुने कठिन र कठोर व्रत हरेक वर्षको पौष शुल्क पूर्णिमादेखि माघ शुल्क पूर्णिमासम्म हुने गरेकोमा यस वर्ष माघ ११ गतेदेखि फागुन १२ गतेसम्म हुने भएको अध्यक्ष श्रेष्ठले बताएको छ । एक महिनासम्म चल्ने सो मेलामा यस वर्ष करिव २२ देखि २५ लाख भक्तजनको उपस्थिति हुने अनुमान गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै शंखरापूर नगरपालिका प्रमुख रमेश नापितले भक्तजनहरूलाई सुरक्षामा कुनै कमि महसुन नगराउने बताएका छन् । नेपालकै ऐतिहासिक पौरणिक तथा धार्मिक महत्वले प्रख्यात रहेको शालिनदि मेला तथा श्री स्वस्थानीको बारेमा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न नगर प्रमुख नापितले आग्रह गरे । त्यस्तै मेलामा कोही कसै ठगि, लुटपाट तथा गलत कार्यमा लाग्नबाट सचेत र सजग रहन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, खानेपरिकारको अनुगमन तथा मूल्य निर्धाण लगायत विषयमा नगरपालिकाको तर्फबाट समन्वय गर्ने बताए । उनले मेलाको समयमा पसल राख्न सटर तथा खाली जग्गा भाडामा लिने व्यक्तिलाई परिचयपत्र लिएर मात्र दिन नगरवासीलाई आग्रह गरेका छन् ।

त्यस्तै शंखरापूर इलाका प्रशासन कार्यलय प्रमुख सीता परियारले शान्ति सुरक्षामा कुनै कमिकमजोरी महसुस हुन नदिने प्रतिबद्धतता व्यक्त गरिन् । उनले मेलाको समय शंखरापूर प्रहरी प्रभागको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी परिचालन गरिने र आवश्यकतानुसार थप प्रहरी माग गरी भक्तजनको सुरक्षा प्रत्यभूति दिलाउने बताईन् । सुरक्षा समितिका संयोजक समेत रहेकी परियारले मन्दिर परिसरमा सहायता कक्षा राख्ने, सादा प्रहरी परिचालन गर्ने, स्थानीय युवा संघसंस्था तथा स्काउटसंग समेत समन्वय गरि आवश्यक सुरक्षा प्रदान गरिने बताईन् । हाल एक सय प्रहरी तयारी रहेको र आवश्यक भएको खण्डमा थप प्रहरीको माग गरिने बताईन् ।

एक महिनासम्म चल्ने मेला तथा शालिनदि दर्शनका लागि आउने भक्तजनलाई मध्येनजर गर्दै सवारी रूढहरू निर्धारण गरेको शालिनदि यातायात प्रा.लिका अध्यक्ष भुपेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । मेलाको समय चल्ने सो बसहरूमा भाडादर झ्यालमा झुण्ड्याउने र रातको ८ बजेसम्म सञ्चालन ल्याउने बताए । त्यस रूढमा करिब १७० वटा बस आवश्यक रहने जानकारी गराउँदै बाबा गोकर्णेश्वर प्रा.लिसंग समन्वय गरेर बस सेवा सञ्चालन गरिने बताए ।

कार्यक्रम संयोजक एल.पी श्रेष्ठले इतिहासलाई जोगाउन श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदि सुधार समितिले हरेक वर्ष मेला तथा व्रतको व्यवस्थापन गर्दै आएको बताए । धार्मिक एवम् साँस्कृतिक पक्षको रूपमा श्री स्वस्थानी र शालिनदि जोडिएकोले नेपाली पहिचानको रूपमा विश्वलाई चिनाउन सफल भएको बताए ।

पत्रकार सम्मेलनमा शंखरापूर नगरपालिका उपप्रमुख समिता श्रेष्ठ, प्रहरी प्रभाग साँखु प्रमुख भगवती तिमिल्सिना, सुधार समितिका संस्थापक अध्यक्ष जनक नारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठ, शालिनदि यातायात प्रा.लिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

यस्तो छ स्वस्थानीको महिमा
यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्खरापुर साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रुपमा नेपाली समाजमा प्रचलित छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने तथा मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणी बहालभित्र समेत छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.