सरकारविरुद्ध उत्रने बेला भएको छैन– काँग्रेस नेत डा खड्का

भदौ २३, काठमाडौं । पूर्व मन्त्री तथा सांसद डा नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताएका छन् ।

पार्टीको कामका लागि उदयपुर आइपुगेका उनले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । डा खड्काले भने, “अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्ष पछि भने सबै कुराको मूल्याङ्कन गरेर अहिलेको जस्तै ढङ्गले अघि बढेमा भने नेपाली काँग्रेस सरकारविरुद्ध उत्रने छ ।”

वर्तमान ओली नेतृत्वको सरकार बहुमतको सरकार भएका कारण प्रमुख प्रतिपक्षले पनि पूरै अवधिसम्म सरकार चलोस् भन्ने चाहेको तर सरकारले जनता सामु बोलेका कुरा पूरा गर्न भने नसकेको आरोप डा खड्काले लगाए । सरकारले अहिले स्वतन्त्र रूपमा जनतालाई शन्तिपूर्ण तरिकाले भेला, सभा सम्मेलन गर्न समेत नदिनाका साथै दमनसमेत गर्न थालेको र विपक्षीलाई पाखा लगाउने नीति लिन खोजेजस्तो देखिएको उनले बताए।

सरकारले अहिले यातायात व्यवसायीको एकाधिकार तोड्ने, चोर तथा गुण्डा नाइके पक्राउ गरेर कारबाही गर्ने र सुन तस्करलाई नियन्त्रणमा लिन तदारुकता देखाएकोमा भने नेता खडकाले प्रशंसा गरेका छन् । नेपालको दुई ठूला छिमेकी देश भारत र चीनसँग वर्तमान सरकारले लिएको सन्तुलनको नीति ठिक रहेको र बिम्स्टेक सम्मेलन पनि सफल बनाउन सरकार सफल भएको उनको धारणा थियो । अब सरकारले प्रतिपक्षप्रति कस्तो रवैया र नीति लिन्छ, नेपाली काङ्ग्रेसले पनि सोहीअनुसारको सहयोग वा विरोध गर्ने कुरा निर्धारण हुने डा खड्काले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.