पुस २५, काठमाडौं । यही आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि छानबिन हुने भएको छ ।
राष्ट्रियसभाको आगामी फागनु २० गतेबाट रिक्त हुन लागेको २० सिटका लागि गएको सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि छानबिन हुने निर्वाचन आयोगले जनाएको हो । राष्ट्रियसभाका २० सिटका लागि विभिन्न राजनीतिक दलबाट ५२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णालीमा माओवादी केन्द्रबाट दलित क्लस्टरमा उम्मेदवारी दिएका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको छ ।
भट्टविरुद्ध अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसपछि नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २७ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आयोगले पुस २८ गते चुनाव चिह्न दिनेछ । यसपछि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ । राष्ट्रियसभा निर्वाचनका लागि २ हजार ४७ मतदाता छन् । आगामी फागनु २० गते राष्ट्रियसभाका रिक्त हुने २० मध्ये १९ जना निर्वाचनबाट चयन गर्न लागिएको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

