हुम्लामा तोकियो एम्बुलेन्सको भाडा

पुस २१, हुम्ला । हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालयले एम्बुलेन्को भाडा तोकेको छ ।

सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो । एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरुमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा तोकेको हो ।

स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालबाट तीन गाउँपालिकाका विभिन्न बस्ती र सदरमुकामभित्र प्रतिकिलोमिटरका आधारमा भाडा निर्धारण गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले बताए । सदरमुकामबाट जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका बस्तीबाट बिरामी ल्याउन सबैभन्दा बढी ३२ हजार रुपैयाँ भाडा तोकिएको उनले जानकारी दिए । सिंहका अनुसार सदरमुकाम तथा बजार भित्रबाट जिल्ला अस्पतालमा बिरामी पुर्‍याउँदा एक हजार रुपैयाँ भाडा लाग्ने छ ।

त्यस्तै सदरमुकामदेखि बुराउँसेसम्म एक हजार पाँच सय, ठेहे तीन हजार, बरगाउँ दुई हजार पाँच सय, दोजाम पाँच हजार पाँच सय, डाडाफया दुई हजार तीन सय, हेप्का तीन हजार, खार्पुनाथ तीन हजार छ सय, याल्वाङ नौ हजार, याङ्गार नौ हजार आठ सय, मुचु १० हजार पाँच सय, लिमाटाङ दुई हजार पाँच सय, खगालगाउँ चार हजार पाँच सय, हिल्सा ३० हजार, तुम्कोट ११ हजार, यारी १३ हजार पाँच सय, चौगनफया पाँच हजार पाँच सय, धारापोरी पाँच हजार पाँच सय, केर्मी छ हजार आठ सय, लाग्ना एक हजार पाँच सय, तोर्पा तीन हजार रुपैयाँ भाडा कायम गरिएको छ ।

एम्बुलेन्सको भाडामा एकरुपता आएसँगै बिरामीका आफन्तसँग भाडाका विषयलाई लिएर हुने वादविवाद अन्त्य हुने सिमकोट–२ ठेहे गाउँका स्वास्थ्य सेवा कार्यालयका एम्बुलेन्स चालक गणेश रावलले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.