पुस १६, काठमाडौँ । नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ ।
पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार राजधानीमा एक विशेष समारोहकाबिच बोर्डको रजत महोत्सव मनायो । नेपालको पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि निजी–सरकारी साझेदारीमा छुट्टै निकाय बनाउने उद्देश्यसहित सन् १९९८ डिसेम्बर ३१ मा बोर्डको स्थापना गरिएको थियो । रजत महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालीपन, स्थानीय स्वाद र स्वामित्वको पर्यटन आजको आवश्यक्ता भएको बताउनु भयो ।

सन् २०२३ मा १० लाख बढि पर्यटकले नेपाली भ्रमण गरेको र यसबाट पर्यटक आगमनमा सरकारले लिएको लक्ष्य पुरा भएको भन्दै उहाँले पर्यटनको नीतिगत सुधार तथा अन्य आवश्यक सुधारको लागि काम भइरहको जानकारी दिनुभयो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र्र रिजालले नेपालको पर्यटन प्रर्वद्धनका लागि विश्व पर्यटनमा देखिएका बदंलिदा आयामहरुको अनुभव लिदै सोही अनुरुप कार्यक्रम ल्याउनु पर्ने आवश्यक्तामाथी जोड दिनुभयो । बोर्डका प्रथम अध्यक्ष एवम् पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले बोर्डको स्थापनाको औचित्यमाथी प्रकाश पार्दै यसलाई कमजोर होइन थप बलियो बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।

