संघीय कानुन निर्माणमा संयुक्त पहल गरौं : प्रधानमन्त्री दाहाल

मङ्सिर २४, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि आवश्यक संघीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयतासम्बन्धी विधेयक सरकारले अगाडि बढाइसकेको बताए।

“सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ। यसका लागि समेत तपाईँ-हाम्रो संयुक्त पहल जरूरी छ”, प्रधानमन्त्री दाहालले भने। उनले संघर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे।

उनले भने, ‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको माओवादी पार्टी नै हो। संघीयताका पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ। संघीय कानुन समयमै निर्माण गर्न निरन्तर पहल गरिरहेको छु।” प्रधानमन्त्री दाहालले आ-आफ्नो पार्टीमा पनि संघीयता कार्यान्वयनका लागि पहल बढाउन आग्रह गरे।

छलफलमा मधेस सरकारका प्रतिनिधिले संविधानमा व्यवस्थाबमोजिमका संघीय कानुन निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

छलफलमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई आग्रह गरिएकामा सो अवधि पूरा भएकाले संघर्षमा जानुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको बताएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.