पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

मङ्सिर २३, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।’

यसैगरी बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्करूपमा (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको कोषका सदस्यसचिव खत्रीले बताए । उनले भने, ‘बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ, भक्तजनलाई कुनै समस्या आउन दिइने छैन ।’

पशुपतिनाथमा मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा खतिवडाले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.