मङ्सिर १९, काठमाडौं । महासचिव लगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । नेकपाले आज एक विज्ञप्ति जारी गर्दै अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनको घोषणा गरेको हो ।
पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताउँदै महासचिव विप्लवले त्यसविरुद्ध आज मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा गायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ ।
‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ ।’
प्रतिवन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमा पार्टीका नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीहरुलाई मुक्त गर्ने विषय उल्लेख रहेको विज्ञप्तिमा उल्लेख छ । ‘राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीस नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

