जाजरकोटका खच्चड मालिक अहिले भए गाडी मालिक

भदौ २३, जाजरकोट । जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन्।

सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो। नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ। एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गरे।

उनकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किने। उक्त नगरपालिका–७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उनी बताउँछन्। जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद गरेर ढुवानी व्यवसाय शुरु गरेका छन्। “खच्चडले सामान ढुवानी गर्ने सबै ठाउँमा सडक पुगिसकेपछि गाडी किनेका हौँ”, व्यवसायी रोका भन्छन्, “गाडी नै गुड्ने भएपछि खच्चडको काम भएन।”

सडक पुग्नुअघि उनीहरूले खच्चडमा सामान लादेर डोल्पा पठाउने गर्थे। अहिले त्यो काम उनीहरूका सवारी साधनले गरिरहेका छन्। रु ३२ लाखमा १५ खच्चड बिक्री गरी त्यसमा थप लगानी गरेर जिप र ट्र्याक्टर खरिद गरिएको उनको भनाइ छ । खच्चडको ठाउँमा गाडी गुड्ने भएपछि खच्चड बिक्री गरेर गाडी खरिद गरिएको अन्य यातायात व्यवसायीहरू पनि बताउँछन्।

जिल्लामा परम्परागत ढुवानीका साधन खच्चडको प्रयोग शून्य बन्दै गएको छ। एक दशकअघिसम्म जिल्लाका सबै ठाउँमा खच्चडमार्फत नै मालसामान ढुवानी हुन्थ्योे। उक्त नगरपालिकामा पालिएका खच्चडले अहिले डोल्पातिर सामान ढुवानी गर्ने गरेका छन्। डोल्पा सदरमुकामदेखि गाउँगाउँमा मालसामान ढुवानी गर्न अझै खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । अहिले जाजरकोट डोल्पा सडकखण्डको खदाङसम्म यातायातका साधन सञ्चालन हुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.