काठमाडौं । काठमाडौंमा आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिकासाथ खरिद गरेको पाइयो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलोपटक व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिए ।
भएको प्रतिक्रिया दिए ।
प्रदर्शनीको अन्तिम दिन आज आकर्षणका रूपमा मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल रहनुभएको थियो । उनी आफ्नो नवप्रकाशन ‘जीवन्त सम्बन्ध’ नामक कृति खरिदका लागि आएका उपभोक्तालाई आफ्नो हस्ताक्षर दिन भ्याइनभ्याई अवस्थामा देखिए ।
पुस्तक खरिद गर्नेहरू डा अनिलसँग तस्वीर खिचाउन तछाडमछाड गरिरहेका थिए । प्रदर्शनीकक्षको उत्तरपूर्वी क्षेत्रमा रहेको चिनियाँ प्रकाशनका स्टल निकै व्यवस्थित आकर्षक देखिन्थे । जहाँ उपभोक्ता पुस्तक रुचिका साथ अवलोकन गर्न र तस्वीर लिन व्यस्त देखिन्थे ।
बिएण्डडी एजुकेसन च्यासल ललितपुरका सञ्चालक कुमारप्रसाद घिमिरेले डा भेषबहादुर थापाको हालै प्रकाशित कृति ‘राष्ट्र–परराष्ट्र’को खोजी गर्ने उपभोक्ता बढी रहेको बताए ।
प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेको महासङ्घका अध्यक्ष सञ्जय चौधरीले बताए ।
प्रदर्शनी अवलोकनका लागि राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, लेखक, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकको पाँचै दिन बाक्लो उपस्थिति थियो ।

