गणतन्त्र चिट्ठा परेर आएको होइन- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक खराब हुँदैमा व्यवस्था अर्थात् गणतन्त्र खराब नहुने बताएका छन् ।

काठमाडौंमा नेपाल संवत् ११४४ को अवसरमा आयोजित टुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा शासक खराब भए पनि बलिदानपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र खराब हुन नसक्ने बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘हो शासक खराब छन् । तर, लोकतन्त्र खराब हुन सक्दैन, गणतन्त्र खराब हुन सक्दैन ।’

अध्यक्ष ओलीले गणतन्त्रका केही शासक खराब हुँदैमा गणतन्त्र त्यागेर राजतन्त्रमा फर्कने नसकिने समेत बताएका छन् । उनले जन्मँदै कोही राजा हुने कुरा स्वीकार गर्न नसक्ने बताए ।

उनले भने– ‘जसले गल्ती गरेको छ, त्यो खराब होला, त्यसबाट हामी ढुङ्गे युगतिर फर्कन सक्दैनौँ । जन्मिँदै कोही राजा हुने त्यस्ता कुराहरू स्विकार्न सकिँदैन । जनताभन्दा ठूलो एउटा व्यक्ति हुने कुरा, एउटा परिवार हुने कुरा अबको सचेत नेपाली जताले स्विकार्न सक्दैन ।’

अध्यक्ष ओलीले बलिदानपूर्ण संघर्षको बलमा स्थापित गणतन्त्रको रक्षाका लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेकोसमेत बताएका छन् ।

उनले भने– ‘चिट्ठा परेर आएको गणतन्त्र, लोकतन्त्र होइन, हामीले बलिदान दिएर ल्याएको हो । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेकपा एमाले संघर्षको मैदानमा जस्तासुकै ठाउँमा पनि उभिन सक्छ, सामना गर्न तयार छ । यो कुरा सबैले बुझे हुन्छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.