कार्तिक २८, राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुनः नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।’’
राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देश यस प्रकार छः
‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।
लिच्छवि राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य र सहिष्णु समाज हो । हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।
अन्त्यमा‚ नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ पुनस् नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल ।
२०८० साल कात्तिक २८ गते, मङ्गलबार ।

