काठमाडौँ महानगर वडा १५ का जनप्रतिनिधिद्वारा भूकम्प पीडितका लागि ५० हजार सहयोग

कार्तिक १९, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष इश्वरमान डंगोल लगायत सदस्यहरूबाट जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत स्वरूप रु. ५० हजार सहयोग गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगरपालिका १५ वडा कमिटिले आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपाल समक्ष रु. ५० हजारको चेक हस्तान्तरण गरेको हो । वडा नं. १५ का पाँचै जना जनप्रतिनिधिहरूले आफ्नो व्यक्तिगत रकम संकलन गरि एकमुुष्ट चेक हस्तान्तरण गरेको हो । वडा कमिटिले शनिवार स्वयम्भू स्थित डल्लुमा नेपाली साँस्कृतिक पर्वहरू विजया दशमी, दीपावली, नेपाल सम्बत्, छठ लगायतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पर्वहरूको मौसममा विपत आइपरेकोले सबै नागरिकहरू भूकम्प पीडितलाई राहत तथा उद्धारको कार्यमा सहयोग गर्नुपर्ने बताए । कर्णली प्रदेश जाजरकोट र रूकुममा भएको विनाशकारी भूकम्पबाट मानवीय तथा भौतिक क्षति भएकोमा दुःख व्यक्त गर्दै सरकारले भूकम्प पीडितको उद्धार तथा राहतमा कुनै कसर नराखी लाग्न आग्रह गरे । पार्टीबाट भौतिक पूर्वाधार मन्त्री समेत रहेका प्रकाश ज्वालालाई त्यस क्षेत्रमा उद्धार, राहत सहयोगको जिम्मेवारी दिएको अध्यक्ष नेपालले बताए । संकटको बेला साथ दिने असल मित्र हुने बताउँदै अध्यक्ष नेपालले भूकम्प प्रभावित क्षेत्रमा सहयोग जुटाउन सबैलाई आग्रह गरे ।

त्यस्तै शुभकामना व्यक्त गर्दै पार्टी सचिव तथा पूर्वमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ महानगरपालिका भित्र वडा नं. १५ जनताको लागि उत्कृष्ठ काम गर्न सफल भएको बताए । आफु मन्त्री हुँदा विकासको संरचनाहरू विस्तार गरेको, विश्व सम्पदा क्षेत्रको विकास गरेको उल्लेख गर्दै त्यस कार्यको निरन्तरता दिन सफल भएको बताए ।

कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ता र स्थानीयहरूको बाग्लो सहभागी रहेका थिए ।

तस्वीरहरूः रूपचन्द्र्र महर्जन÷प्रारम्भ खबर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.