लाेप हुँदै दशैंमा चंगा उडाउने संस्कृति

कार्तिक २, पाल्पा। दशैं बेला चंगा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन। दशैंको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चंगा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ।

विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चंगा उडाउँदा दशैंको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताउँछन्।

“चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्‍याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमंग बढाउँथ्यो, अहिले त चंगा उडाउने गरेको देखिनै छोडयो”, उनले भने।

खुला आकाशमा चंगा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो। नयाँ पुस्तामाझ दशैंमा चंगा उडाउने संस्कृतिबारे जानकारी नै छैन। पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना(साना बालबालिकालाई दशैंका बेला चंगा बनाएर देखाउन थालिएको छ।

खुला आकाशमा चंगा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो। मनोरञ्जन मात्रै नभई परिवारमा खुसुी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउँछन्। हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चंगा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन। यस्ता पुराना संस्कृति लोप हुन पुगेका छन्। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.