असोज २८, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल बेल्ड एण्ड रोड इनिसिएटिभ प्रोजेक्टको सम्मेलनमा भाग लिन चीनतर्फ प्रस्थान गर्नुभएको छ ।
चीनले १० वर्षदेखि अघि सारेको उक्त परियोजनामा भाग लिनका लागि जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको निमन्त्रणामा जान लागेको नेता खनालले बताउनुभएको छ । आज बेलुका (आइतवार) नेपालको तर्फबाट वक्तव्य दिनका लागि चीन प्रस्थान गर्नुहुने बताउनुभएको छ ।
पत्रकार भेटघाटमा उहाँले उक्त सम्मेलनमा हुने निर्णय, ज्ञान, सीप, शिक्षा र र विकासका मोडलहरूलाई नेपालमा लागु हुने गरी फर्किने बताउनुभयो । नेपाल र चीनबीचको १६ सय वर्षे पुरानो सम्बन्धलाई थप बलियो बनाउन यो सम्मेलनले सहयोग पु¥याउने उहाँको विश्वास छ । नेपाल–चीनबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध सभ्यता, साँस्कृतिक इतिहास, नदीनालाबाट जोडिएको अन्तर सम्बन्धलाई थप मजबुद बनाउने बताउनुभयो ।
चीनका राष्ट्रपति सिजिपिङको नेतृत्वमा अगाडी सारेको उक्त परियोजना हाल १५२ राष्ट्रहरूले अपनाएको अवस्था रहेको छ । विश्वव्यापी परियोजनाको रूपमा विकास निर्माण, आर्थिक, सामाजिक एवम् साँस्कृतिक पक्षमा छलफल गर्न विश्वका १५२ राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्रीहरूको सहभागी रहने उहाँले बताउनुभयो ।
सन् २०१७ मा बेल्ड एण्ड रोड इनिसिएटिभ प्रोजेक्टबारे नेपाल–चीनबीच सम्झौता भएपनि लागू गराउन नसकिएको नेता खनालले बताउनुभयो । अबको सम्मेलनबाट दुइ सरकारबीचको सम्बन्धलाई विकास गर्न र सो परियोजनाको कार्यान्वयनमा गराउन नेपाल सरकारलाई विशेष पहल गरिने बताउनुभयो । एक हप्ताको बसाईमा नेता खनालले चीन सरकारका प्रतिनिधिहरू र अन्तरपार्टीबीच भेटघाट तथा छलफल गरिने बताउनुभयो ।

