उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा– अध्यक्ष नेपाल

असोज २२, रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन् ।

पार्टीको मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत सोमबार बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गरे । उनले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धाराशायी बनाएको टिप्पणी गरे । अध्यक्ष नेपालले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनाका लागि आफ्नो पार्टीका तर्फबाट पहलकदमी गर्ने बताए ।

उनले नेपालले बैंकहरुले पनि उद्योग तथा कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक सङ्कट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसारोकारको मुद्दालाई लिएर मेचीमहाकाली समाजवादी जागरण अभियान सुरु गरिएको बताए । सो अवसरमा उद्योगी व्यवसायीले बैंकको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, कच्चापदार्थको अभाव जस्ता समस्या भोगेको भन्दै आफूहरु विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.