भदौ २१, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर गएका छन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले देशभर चर्चा पाईरहेका बेला प्रहरी प्रमुख त्यही जिल्ला गएका हुन् ।
उनी निर्मला पन्त काण्डबारे निरिक्षण तथा अनुगमन गर्न भने गएका होईन् । उनी राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको संयुक्त आयोजना शुक्रबार हुने महिला मानव अधिकार संरक्षण एवं सुरक्षा सम्बन्धि कार्यक्रममा भाग लिन गएका हुन् । निर्मला काण्डको छानविन गर्न सरकारले खटाएको टोली, सीवीआईको टोली र जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको बेला आईजीपी कञ्चनपुर गएका हुन् ।
कञ्चनपुरमा रहँदा महानिरीक्षक खनालले उक्त घटनाबारे पनि अध्ययन गर्ने प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीले जानकारी दिए । ‘आईजीपी साप महिला मानव अधिकार सम्बन्धि कार्यक्रम भाग लिन जानुभएको हो । त्यहाँ रहँदा उहाँले अनुसन्धानबारे बुझ्नुपनि हुन्छ होला ।’ एसएसपी थापाले भने ।

