मेस्सी फिफा सर्वोत्कृष्ट खेलाडीको उत्कृष्ट तिन भित्र परेन

भदौ २०, काठमन्डौ । प्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ ।

यस उपाधीमाथि मेस्सी र रोनाल्डोले पछिल्लो दशकमा एकछत्र राज गर्दै आएकोमा बार्सिलोनाका यी नामुद खेलाडी मेस्सीको नाम भने सन २००६ यता पहिलो पटक अन्तिम तीनको सूचीमा छैन । पाँच पटक सो उपाधी चुमेका मेस्सी सन २००८, २०१३, २०१४, २०१६ र २०१७ मा रोनाल्डोले उपाधी हात पार्दा उपविजेता रहेका थिए ।

गत जुलाइमा इटालियन क्लब युभेन्ट्स जानुअघि रियल म्याड्रिडका नौ वर्षे बसाइमा पाँच वर्ष बीचमा चार पटक युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग जिताएर रोनाल्डोले आफ्नो गौरवगाथा शिखरमा पु¥याएका थिए । आउँदो सेप्टेम्बर २४ मा उनी छैटौँ पटक पनि फिफा सर्वोत्कृष्ट खेलाडीका रुपमा छानिए भने पक्कै पनि उत्कृष्टताको दौडमा उनले मेस्सीलाई पछाडि छाड्ने छन ।

मेस्सी–रोनाल्डो आधिपत्यको अन्त्य ?
आफ्नो क्लब तथा देशका लागि उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोको पुरानो क्लब रियल म्याड्रिडका खेलाडी लुका मोड्रिचले उपाधी चुम्ने धेरैको अनुमान छ । सो उपाधिका लागि १० वर्ष यताको पहिलो नयाँ नामको रुपमा मोड्रिचलाई लीएको छ । रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधी दिलाउन उल्लेख्य योगदान दिएका यी क्रोएसियाली मिडफिल्डरले सन २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसिया उपविजेता बन्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएर ’गोल्डेन बल’ पनि प्राप्त गरेका थिए ।

म्यान्चेस्टर युनाइटेड तथा डेनमार्कका पूर्व गोलरक्षक पिटर स्माइकलले फिफा दूतको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै भने, “मलाई वास्तवमै मोड्रिचले जितून भन्ने छ किनभने विश्वकपमा उनले जुन कौशल देखाए, त्यो साँच्चै विशिष्ट थियो ।”

“हामीले देखेजानेका उनी रियल म्याड्रिडका शान्त खेलाडी हुन तर यो विश्वकपमा उनमा हामीले तेजश्वी नेतृत्वको गुण पायौँ । उनले कप्तानको कालो पट्टा पाखुरामा लाएका थिए, अग्रभागबाट खेलको नेतृत्व सम्हालेका थिए अनि प्रतिद्वन्द्वीलाई रोक्न बढ्ने पहिलो व्यक्ति पनि उनै थिए । हामीले लुका मोड्रिचको त्यो रुप देख्यौँ जुन पहिला कहिल्यै देखेका थिएनौँ ।”

लिभरपुलका लागि गत सिजनमा मोहम्मद सलाहको ४४ गोलको अद्भूत प्रदर्शनले उनलाई मेस्सी तथा २०१८ विश्वकपका फ्रान्सेली नायकहरु किलियान एम्बाप्पे एवम एन्टोइन ग्रिज्म्यानलाई पछि पारेर उत्कृष्ट तीनमा पार्न सफल बनाएको हो । यी इजिप्सियन खेलाडीले किभमा आफू चोटग्रस्त हुनुअघि आफ्नो क्लब लिभरपुललाई च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडका विरुद्ध उभ्याउन सफल भएका थिए । त्यही चोटका कारण विश्वकपमा उनको भूमिका सीमित भएको थियो ।

सर्वोत्कृष्ट खेलाडीको दौडमा फ्रान्सेली खेलाडीहरु नभए पनि सर्वोत्कृष्ट प्रशिक्षकका लागि भने अन्तिम तीनमा दुई फ्रान्सेली — २०१८ को विश्वकप विजेता टोलीका प्रबन्धक डिडिअर डेस्च्याम्प र रियल म्याड्रिडका पूर्व कप्तान जिनेदिन जिदान — क्रोएसियाका ज्लाट्को डालिचसँगै छनोटमा परेका छन । डालिचको क्रोएसिया २०१८ विश्वकपमा चमत्कारिक उदय गर्दै उपविजेता रहन सफल भएको थियो भने डेस्च्याम्प ती तीन कीर्तिमानी हुन जो विश्वकप खेलाडी तथा प्रशिक्षक दुवै हात पार्न सफल भएका छन । उता जिदानले भने यही मे महिनामा आफ्नो पद त्याग्नुअघि रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग उपाधी दिलाउन सफल भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.