साउने झरीसँगै चलिरह्यो सूचनाको हकका लागि समुदाय जागरण अभियान

साउन २७, काठमाडौँ । साउने झरी दर्किरहेका बेला पनि सूचनाको हकका अभियानकर्मी भने सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्नबाट रोकिएनन् ।

गत असार ३१ गते शनिबार विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम आज घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरिएको हो । झरीका बावजुद पनि अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँ एवं काठमाडौँ उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं. २९ घट्टेकुलोबाट सुरु भएको अभियान मैतीदेवी मन्दिर क्षेत्रमा पुगेर समापन गरिएको थियो ।

‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कस्लाई माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो । सूचनाको हकसम्बन्धी जागरणमूल गीतसहित गरिएको जागरणमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको महासङ्घ उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारीले राससलाई जानकारी दिनुभयो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले काठमाडौँका बस्ती बस्तीमा सुरु गरिएको अभियानले सूचनाको हकका विषयमा नागरिकलाई जानकारी दिने काम गरेको बताउनुभयो । महासङ्घ, जिल्ला कार्य समिति काठमाडौँले अर्को हप्ता शनिबार अर्थात् भदौ २ गते शनिबारको समुदाय जागरण कार्यक्रम गोेकर्णेश्वर नगरपालिका वडा नं. १ को ओखरेनी, चिलाउने र मूलखर्क गाउँलाई केन्द्रित गरेर गर्ने भएको छ । राजधानीमै भएर पनि कर्णालीका जनताको जस्तो जीवनयापन गरिरहेका त्यस क्षेत्रका स्थानीयवासीलाई सूचनाको हकका विषयमा जानकार बनाउन त्यस बस्तीमा कार्यक्रम गर्न लागिएको जिल्ला समितिका उपाध्यक्ष विनोद बस्नेतले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.