साउन १०, बारा । बाराको सिम्रौनगढमा ससुराली आएका एक भारतीय युवकले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
सिम्रौनगढ नगरपालिका–६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन् । उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार गरी हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । बुधबार बिहान २ बजेतिर श्रीमती सुतेको कोठाभित्र पसी धारिलो हतियारबाट घाँटी रेटी अन्सारीले हत्या गरेका थिए ।
घरका सदस्यले होहल्ला गरेपछि छिमेकीहरू आई ढोका खोलेर हेर्दा युवक हत्या गरी त्यही बसेका थिए । छिमेकीहरूले युवकलाई समाती प्रहरीलाई बुझाएका छन् । भारत बिहार ढाका थाना अन्तर्गत रुपौलिया गाउँ निवासी उनको सात वर्ष पहिले आश्मिना खातुनसँग बिहे भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

