५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिले ?

भदौ १८, काठमाडौं । “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?”

प्रतिनिधिसभाको आजको बैठकमा सांसद सञ्जयकुमार गौतमले यो प्रश्न सोधी चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु गर्नुभयो । सांसदले मौखिक प्रश्न सम्बन्धित मन्त्रीसमक्ष राख्ने र मन्त्रीले जवाफ दिनेक्रम आजदेखि शुरु भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउन कार्यविधि तयार भई कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयल शिक्षा निःशुल्क भएपछि उच्च शिक्षालाई अझ गुणस्तरीय बनाउन सो प्रावधान ल्याइएको हो । यो कार्यान्वयन हुन्छ । यसमा शङ्का नगरे हुन्छ ।” सो प्रश्नमाथि सांसद प्रेम सुवाल, विरोध खतिवडा, तेजुलाल चौधरी र राजेन्द्रकुमार केसीले पूरक प्रश्न गर्नुभएको थियो ।

निःशुल्क शिक्षा विधेयक

मन्त्री पोखरेलले सदनको आजको बैठकमा ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५’ प्रस्तुत गर्नुभयो । सो विधेयकमाथि सांसद खगराज अधिकारी, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, चौधरी र अञ्जना विसंखेले संविधानप्रदत्त अधिकार भएको हुँदा शिक्षा र स्वास्थ्यमा राज्यले दायित्व लिनुपर्छ भन्नुभयो । विद्यालयलाई बालमैत्री, महिलामैत्री र अपाङ्गता भएकामैत्री बनाउन र शिक्षाको बजेट वृद्धि गर्न माग गर्दै उहाँहरुले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसके जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्नुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.