नेपाल सोमबार भारतसँग खेल्दै

असार ३१, काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले सोमबार भारत ‘ए’ को सामना गर्दैछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पाकिस्तानसामु कमजोर देखिएको नेपाललाई भारत पन्छाउन सक्नु ठूलो चुनौती हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तानले ३२।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् । नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहने छैन ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.