असार ११, काठमाडौं । गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । विदेशमा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो ।
स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । ‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सीधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।
बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ । रोमानियामा सांगीतिक कार्यक्रमका क्रममा उक्त घटना भएको हो । घटना आइतबार (हिजो) को भएको सामाजिक सञ्जालमा उल्लेख छ ।

