डोटी र अछाममा निःशुल्क आँखा शिविर, एक हजार बढि लाभान्वित

जेठ २९, काठमाडौँ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदुरपश्चिका विभिन्न स्थानिय तहहरुसंगको सहकार्यमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानिय तहहरुको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानिय तहमा आँखा शिविर सञ्चालन गरिएको हो । तिनवटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परिक्षण गरि १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । पहुुँच र पैसाको अभावमा कोहि पनि नागरिक दृष्टिविहिन भएर बस्न नपरोस भन्ने हेतुले संघले देशका विभिन्न क्षेत्रहरुमा निःशुल्क आँखा शिविरहरु संचालन गर्दैै आइरहेको छ ।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाँउपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परिक्षण गरि मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परिक्षण गरि ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताउछन् अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्ट ।

त्यसैगरी जेठ १८ र १९ गते अछाम जिल्लाको मेल्लेख गाँउपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरि मोतियाबिन्दु देखिएका ५५ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । तिनवटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको बताउन् अस्पतालका बाह्य कार्यक्रम व्यबस्थापक रमेशचन्द्र भट्ट ।

अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा सेवा प्रदान गरेका थिए । आर्थिक तथा पहुँचको अभावका कारण दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीहरुले आँफ्नै घर आँगमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

नेपाल नेत्रज्योति संघ अन्तरगत संचालित गेटा आँखा अस्पतालले शुदुरपश्चिमा थप ३ वटा सेकेन्डरी लेभलका आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर तथा १७ वटा आँखा उपचार केन्द्रहरु मार्फत यस क्षेत्रका नागरिकहरुलाई सुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आईरहेको छ ।

अस्पतालको सेवा शुलभ र गुणस्तरिय समेत भएकाले छिमेकी देश भारतका नागरिकहरु समेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने गर्दछन् । अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरुसंगको सहकार्यमा प्रदेशका नौवटै जिल्लाहरुका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.