पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

चै १०, काठमाडौं। मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ। पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए। चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा रेका थिए। योत्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ। उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको थियो।

जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको हो। चैत्र शुक्ल द्वितीयाका दिन बिहीबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको हो। एघार दिनसम्म चल्ने यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक हो।

मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ। देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरूपमा सहभागी हुने गरेको उनले सुनाए।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ। भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा बिहीबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो। नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन बिहीबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् बुधबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ। यसै परम्पराअनुसार बिहीबार वत्सलेश्वरीको रथ तानेर चावहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिएको थियो। त्यहाँबाट बिहीबार पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको छ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ। यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन्। रासस

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.