ढोरपाटनमा वर्षकै पहिलो पटक हिमपात

चैत ५, ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो ।

हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ ।

‘हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो’, घिमिरेले भने, ‘अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।’ हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । अघिल्लो वर्ष पुस माघमै चाररपाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.