विदेश जाने युवालाई अनावश्यक दुःख नदिन प्रधानमन्त्री निर्देशन

चैत २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौं समस्या भोग्नु परेकाले उनीहरुलाई अनावश्यक दुःख दिने काम नगर्न निर्देशन दिएका हुन् । ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ’, गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले भने, ‘पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुःख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् ।’ उनले अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण गर्न समेत निर्देशन दिएका छन् ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा भएको प्रस्तुतिले चालु आर्थिक वर्षको हालसम्मको अवस्था उजागर गरेकाले मन्त्रालयले आफ्नो वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने, मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, विकास निर्माणमा सहजीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र सेवा प्रवाहमा अझ सक्रियताका साथ कार्य सम्पादन गर्न उनले निर्देशन दिए । गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन गर्नसमेत प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.