धार्मिक प्रजातिका रूखहरू लोप हुँदै

फागुन १६, काठमाडौँ । धार्मिक रूपमा पूजा गरिने प्रजातिका रूखहरू लोप हुँदै गएको छ । पीपल, बर, पाकडलगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट हराउन थालेका छन् ।

गाउँघरमा सार्वजनिक तथा निजी जग्गामा रहेका पाकड, पीपल, बर लगायतका रुख खरिद गरी इँटा उत्पादन तथा अन्य प्रयोजनमा प्रयोग गर्न थालेपछि धार्मिक आस्थाको प्रतीक मानेर पूजापाठ, हवनदेखि औषधि निर्माणमा प्रयोग हुनेलगायतका धार्मिक अनुष्ठानमा प्रयोग हुने यी रूखहरू लोप हुँदै गएको छ ।

पीपलको रुखमा प्रत्येक शनिवारको दिन जल चढाउनाले शनिग्रहबाट ग्रसित मानवको दुःख, कष्ट समाप्त हुनुको साथै सुखमय जिन्दगी तथा धन आयु प्राप्त हुने पुरोहित मङ्गल मिश्र बताउनुहुन्छ । उहाँले पूजा पाठमा पीपल, बरगज, पाकडलगायतका पञ्चपल्लवमा प्रयोग हुने गरेको बताउँदै पुरोहित मिश्रले अहिले कतिपय ठाउँमा यी जातका लकडीहरूको अभावमा मात्र एक दुई वटा रुखको हाँगा प्रयोग गरी पूजापाठ गर्ने गरेको बताउनुभयो ।

धार्मिक अनुष्ठानमा प्रयोग हुनुको साथै यी जातका रुखहरूका हाँगा, बोक्रा, रसबाट विभिन्न किसिमका आयुर्वेदिक औषधि निर्माण हुने गरेको तथा ती औषधि प्रयोग गर्नाले विभिन्न रोग निको हुने गरेको वैद्य पवन झा बताउनुहुन्छ । पूजापाठदेखि औषधि निर्माणमा प्रयोग हुने यी जातका रूखहरू दाउरामा प्रयोग हुनु अति नै दुःखदायी रहेको स्थानीय गोविन्द चौधरीले बताउनुभयो ।

गाउँघरमा पाइने यी जातका रूखहरू अत्यधिक मात्रामा कटान हुनाले वातावरणमा असर पर्ने गरेको साथै आदिकालदेखि धार्मिक, संस्कृति एवं आस्था र विश्वासको प्रतीक मानिने रूखहरू दिनानुदिन विनाश हुँदा दुःख व्यक्त गर्दै स्थानीय बुद्धिजीवी श्रवणकुमार झाले धरोहरका रूपमा चिन्दै आएका यी रुखहरूलाई जोगाउनेतर्फ सबैले लाग्नुपर्ने बताउनुभयो ।– गोरखापत्र

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.