पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

फागुन १, मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ ।

आज (सोमबार) विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । मन्त्री किरातीले आम जनताका भावना, सरोकारवालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार सुरु गरेको बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा राखी विराटनगरबाट हिमाली दृश्यावलोकन उडान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशक हंशराज पाण्डे, होटल व्यवसायी राजन श्रेष्ठ र उद्योगपति राजेन्द्र खनालले प्रदेशमा रहेका १४ वटा विमानस्थलमा यहाँबाट हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कूल १६ हजार दुई सय ७७ वर्गमिटर क्षेत्रफलमा फैलिने टर्मिनल भवन दुई अर्ब ४२ करोड रुपियाँको लागतमा निर्माण हुनेछ । भविष्यमा बढ्नसक्ने हवाई यात्रुको चापलाई ध्यानमा राख्दै धावनमार्ग बिस्तार गरिन लागिएको विराटनगर विमानस्थलका प्रमुख रिञ्जी शेर्पाले जानकारी दिनुभयो ।– रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.