माघ २३, काठमाडौं । जिल्ला अदालत काठमाडौंले मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई मानव बेचबिखनको मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश दीपक ढकालको एकल इजलासले कैदसहित पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश ढकालको इजलासले मानव बेचबिखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ (१) को (छ) अनुसार सात वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।
सरकारी वकिलको कार्यालय काठमाडौंले भने पाण्डेलाई १० देखि १२ वर्ष कैद सजाय र ५० हजारदेखि एक लाख रूपैयाँसम्म क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको थियो । यसअघि नै बाल यौन दुर्व्यवहारमा जिल्ला अदालतले पाण्डेलाई ६ महिना कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताकी सहभागी किशोरीलाई उनले बलात्कार गरेको आरोप लागेको थियो । उनले आफूमात्र होइन आफ्ना साथीहरूलाई समेत उनीमाथि बलात्कार गर्न लगाएको खुलेपछि प्रहरीले मानव बेचबिखनमा अनुसन्धान गरेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मानव बेचविखन गरेको र बाल यौन दुराचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

