‘सत्तामा जनजाति र उत्पीडित वर्गको नेतृत्व आवश्यक’

माघ २१, काठमाडौँ । जनजाति नेताहरुले राज्य सत्ता सञ्चालनमा जनजाति र उत्पीडित वर्गको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल तमू संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम विस्तारित बैठकमा नेताहरुले सो कुरा बताएका हुन् । समाजवादको लक्ष्य प्राप्तिका लागि वर्गीय मुक्ति र जातिय मुक्तिको आवाज समेट्नुपर्ने निष्कर्ष निकालेको छ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटि सदस्य भविश्वर पराजुलीले नेपालको इतिहास सामान्ती शासनबाट गुज्रेर आएको बताउँदै २०६२÷०६३ को आन्दोलनबाट जनवादी क्रान्तिको उदय भएको बताए ।

नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक परिवर्तनमा जनजातिको योगदान उल्लेखनीय रहेको बताए । पराजुलीले नेपाली विशेषताको समाजवादबारे धारणा राख्दै इतिहासदेखि पिछाडिएको उत्पीडित वर्ग र जनजातीलाई नेतृत्वमा ल्याउन समाजवादले मार्ग प्रशस्त गरिने बताए । समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि उत्पीडित वर्ग र जनजातीको नेतृत्व आवश्यक रहेकोले पार्टीको दस्तावेजमा विशेष स्थान दिनुपर्ने बताए ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटि सदस्य तुल बहादुर गुङरुले नेपालको जनजातिहरुलाई एक ठाउँमा संगठित गरी राजनीतिक नेतृत्वमा सहभागी गराउनुपर्ने बताए । समुदायको पहिचान, अधिकार र नेतृत्वको लागि समाजवादीले मार्ग प्रसस्त गरेको उल्लेख गर्दै जातीय संगठनहरु एकीकृत हुन आग्रह गरे । त्यस्तै पार्टी पोलिटब्यूरो सदस्य एवम् नेपाल तमु संघका सल्लाहकार विजय गुरुङले कम्युनिष्टहरुमा पनि फरक विचार र अस्तित्व बोकेर जन्मेको पार्टी भएकाले नेपाली समाजमा महत्वपूर्ण सहभागीता रहने बताए । नेपाली जनताको आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न पार्टीको दस्तावेजमा स्पष्ट धारणा ल्याउन सुझाव दिए ।

त्यस्तै नेपाल आदीवासी जनजाति महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले पार्टीमा जनजाती समुदायको सहभागीता र औचित्यबारे धारणा राखे । उनले पहिचान र क्षमताको कदर गर्दै नेतृत्वमा सहभागीता गर्नुपर्ने बताए । पार्टीमा आर्थिक क्रान्तिको एजेण्डलाई प्राथमिकताका साथ आगाडी बढाउनुपर्ने बताए ।

नेपाल तमू संघ समाजवादीका अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, नेपाल आदीवासी जनजाति महासंघ समाजवादीका महासचिव चन्द्र बहादुर तामाङ, नेपाल तामाङ संघ समाजवादीका केन्द्रीय अध्यक्ष लाप्साङ तामाङ, इन्द्रमाया गुरुङ लगायतले धारणा राखेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.