पुस २६, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो । बैठकपछि खतिवडाले भन्नुभयो, “विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्यौं । यो सरकार जुन बनेको छ, शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिइन्छ ।”
तर, समाजवादी पार्टीले राष्ट्रियता, सुशासन एवम् बिग्रदै गएको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान र यसको संवेदनशीलताको सन्दर्भमा संसदमा प्रतिपक्षीको रुपमा आवाज उठाउने उहाँले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा संसदको आजको बैठकमा विश्वसको मत माग्दै हुनुहुन्छ । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि हिजो सोमबार संसदको पहिलो बैठक बसेको थियो ।

