सालीनदीमा स्वस्थानी मेलाको तयारी पूरा

पुस १५, काठमाडौं । काठमाडौं साँंखुमा लाग्ने एकमहिने स्वस्थानी व्रत कथा तथा सालीनदी मेलाको तयारी तीव्र रुपमा भइरहेको छ ।

माधव नारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलाको तयारी तीव्र रुपमा भइरहेको कार्यक्रम संयोजक एल्पी श्रेष्ठले जानकारी दिए ।

यो वर्ष पौष २२ गतेदेखि माघ २२ गतेसम्म मेला लाग्दै छ । माधव नारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सबैभन्दा पहिले लगत संकलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिने बताए ।   

यस्तै, व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । एक महिने मेलामा ३० देखि ३५ लाख धार्मिक पर्यटकहरु आउने उनको भनाइ छ ।

भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा सालीनदी यातायात प्रालि, बाबागोकर्णेश्वर प्रालिद्वारा सञ्चालित बसहरु जस्तोसुकै अवस्थामासमेत सेवा दिन तयार रहेको र अपुग भएको खण्डमा थप बसहरु व्यवस्था गरिने समितिले जनाएको छ ।

साथै, सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.