पुस १३, काठमाडौं । नेपाली कांग्रेसको वागमति प्रदेशको संसदीय दलको नेतामा नुवाकोटको क्षेत्र नम्बर २ बाट निर्वाचित बहादुर सिंह लामा तामाङले दाबी गरेका छन् ।
संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका उनले आफू उम्मेदवारमात्र बन्ने नभई जित्ने नै दाबी गरेका छन् । उनलाई पार्टीका शीर्ष नेताको समर्थन रहेको जनाइएको छ । उनले आफू स्वभाविक उम्मेदवार भएको र प्रदेशको विकासको लागि आफूसँग स्पष्ट दृष्टिकोण भएको पनि बताएका छन् । ‘म दुई पटक निर्वाचित केन्द्रीय सदस्य हुँ, नुवाकोटको विकासका लागि धेरै योगदान गरेको छु अब मेरो सोच र विचारलाई प्रदेशको हितमा लगाउँछु’ उनले भने ‘यो प्रदेशमा धेरै सम्भावना छ, के गर्दा राम्रो बनाउन सकिन्छ भन्ने मलाई राम्रो थाहा छ त्यसैले एक पटक अवसर खोजेको हुँ ।’ उनले आफू दलको नेता भइसकेपछि पार्टीलाई विस्तार गर्ने पनि जनाएका छन् ।
लामाले नुवाकोटको २ नबर क्षेत्रमा प्रतिनिधिसभामा टिकट मागेका थिए, त्यो क्षेत्रबाट अर्जुननरसिंह केसी उम्मेदवार भएपछि उनी प्रदेशमा उठेका हुन् । उनले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोटको क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका थिए । उनी २०७४ सालमा प्रतिनिधिसभाकै समानुपातिक सांसद भए । २०५४ सालमा मनकामना गाउँ विकास समितिका अध्यक्ष भएका उनी राजनीतिसँगै समाजसेवामा पनि सक्रिय छन् ।
‘मैले राजनीतिमा लागेर अरुलाई दिएको मात्र छु, अब अवसर पाए अझै केही गरेर देखाउँथे’ उनले भने । वागमति प्रदेशमा रहेका प्रदेशसभाका ६६ वटा क्षेत्रमा नेपाली कांग्रसले २५ स्थान जितेको छ भनें १२ जना सानुपातिक सांसद पाएको छ । बहादुरसँगै अर्का नेता इन्द्रबहादुर बानियाँ पनि संसदीय दलको नेतामा प्रतिस्पर्धामा छन् । बानियाँले मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट दोस्रो कार्याकालको लागि फेरि पनि निर्वाचन जितेका हुन् । उनी २०७४ मा पनि त्यही क्षेत्रबाट निर्वाचित भएका थिए । बानियाँले कम्युनिष्टको किल्ला तोड्दै २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर १ बाट जितेर कांग्रेसको झण्डा गाडेका थिए ।
वागमति प्रदेशसभाका सभापतिसमेत रहेका बानियाँ मकवानपुरको पार्टीका निवर्तमान सभापति पनि हुन् । बानियाँ यसअघिको प्रदेशसभामा संसदीय दलको नेता रहेका थिए । त्यतिबेला नै कांग्रसले सरकारको नेतृत्व गर्ने अवसर पाउँछ र मुख्यमन्त्री बन्छु भनेर पर्खिएका बानियाँलाई नेकपा ९एकीकृत समाजवादी० का नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री नछोडेपछि बानियाँको सपना पूरा हुन सकेको थिएन । पार्टीले सरकार बनाउने अवसर पाए संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने संवैधानिक प्रावधान छ ।
पाण्डे २०७८ को कार्तिकमा मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री बन्ने बेलामा ६÷६ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि पाण्डेले पाइरहेको मुख्यमन्त्री नछोडेपछि त्यतिबेला नै बानियाँको मुख्यमन्त्री बन्ने सपना पूरा हुन सकेन । १३ जिल्ला रहेको वागमति प्रदेशमा समानुपातिक गरी १ सय १० जना सांसद रहेका छन् ।

