चिया बेचेर ६० हजार बचत गर्दै २० वर्षीया विपना

पुस ३, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन् ।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य २५ भए पनि विपना एक कप चियाको २० रुपैयाँ मात्रै लिन्छिन् । ‘चिया बेचेर दैनिक तीन हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छु ।’ विपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि औसत कमाइ तीन हजार भएको बताइन् । माध्यमिक शिक्षा परीक्षा ९एसइई० पछि विपना पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्लस टु सक्काइन् । त्यसपछि जागिरभन्दा पनि आफैँले केही गरौँ भनेर चिसो तम्घासमा तातो चिया बेच्न थालिन् ।

‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ’, उनले भनिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’ तम्घास बजारमै दुई सय कपभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने विपनाको भनाइ छ । उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.