कात्तिक १६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ । बुधबार बडिगाड गाउँपालिका– ३ सिसाखानीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ ।
“गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं,” उहाँले भन्नुभयो,“बागलुङ क्षेत्र नम्बर २ का दुई प्रदेश सदस्यसहित प्रतिनिधिसभा सदस्यमा हामीले जितिसकेका छौं औपचारिक घोषणा हुनमात्र बाँकी छ ।” उहाँले नेकपा एमाले पार्टी लोकतन्त्र विरोध भएको बताउनुभएको छ । “लोकतन्त्र भनेको बहुमतको शासन, अल्पमतको प्रतिपक्ष हो,” उहाँले भन्नुभयो, “केपी ओलीले अल्पमतमा पर्दा पनि संविधानलाई मास्न खोज्नुभयो ।” लोकतान्त्रिक प्रणाली स्थापनाका लागि निर्वाचन आयोगले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको बताउँदै निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गर्नुभयो । देशको लोकतान्त्रिक प्रणाली धरापमा पार्न खोजेकाले संविधानको रक्षाका लागि पाच दलीय गठबन्धन गरेको बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार जीतबहादुर शेरचनले भौतिक पूर्वाधार विकाशले मात्र नहुने भन्दै देशलाई आर्थिक विकाशमा लैजानुपर्ने बताउनुभयो । देशमा संस्थागत भ्रष्टाचारले मौलाउँदै गएको बताउँदै यसलाई रोक्दै मावन विकाश सुचांकमा सुधार ल्याउनुपर्ने औंल्याउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता निरज पुन, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार रेनुका काउचा, नेकपा माओवादी केन्द्र समानुपातिक पदका उम्मेदवार वलावति शर्मा, प्रदेश सभा समानुपातिक पदका उम्मेदवार मेखबहादुर विक, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजीव घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेललायतको उपस्थिति रहेको थियो ।

