‘बोल्नै नपाइने’ भन्दै एमाले बाराका ९७ जनाको सामूहिक राजीनामा

कात्तिक २, वीरगञ्ज । नेकपा एमाले बाराका मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा राजीनामा घोषणा गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेपालको कम्युनिष्ट अभियानमा भूमिगत अवस्थादेखि नेकपा माले हुँदै सक्रिय रुपमा नेकपा एमालेमा लाग्दै आएपनि श्रमिक, किसान, मजदुर, नेपाल र नेपाली जनताको हित र जीवन स्तर सुधारको पक्षमा, गरिब किसान मजदुर वर्गले अपेक्षा गरे अनुसारको कार्य हुन नसक्ने अवस्था देखिएकोले पार्टी छोड्नुपरेको उनीहरुको तर्क छ ।

उनीहरुले पार्टी छोड्नुपर्ने १४ वटा कारणहरु समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । केन्द्रीयताको आडमा कार्यकर्ताहरुलाई बोल्न समेत रोक लगाएर आफ्ना कुराहरु र समस्याहरु कतै राख्न नपाउने बनाईएको, आत्मआलोचना गर्ने परिपाटी समाप्त भई पार्टी, नेताहरु कार्यकर्ताहरु स्वयं गुटबन्दीमा लागेर एक अर्कालाई सिध्याउने निषेधको राजनीति जारी रहेकोले सैद्धान्तिक स्खलन भएको उल्लेख छ ।

पार्टी कमिटीगत जिम्मेवारी दिँदा वा विभिन्न तहका निर्वाचनमा टिकट वितरण गर्दा लोकप्रियता, इमान्दारिता, कार्यदक्षता, भुगोल सामाजीक अवस्थाको विष्लेशण नगरी भागबण्डा र आर्थिक चलखेलको आधारमा टिकट वितरण भएको जित्नेलाई भन्दा पनि भागबण्डा र गुटको आधारमा तल्ला कमिटीलाई दवाब र प्रभाबमा पार्ने हस्तक्षेप गर्ने र आफु अनुकुल भागबण्डा गर्ने गरेको उनीहरुको भनाइ छ ।

विगतमा पार्टी कार्यालय तोडफोड गर्ने, झण्डा च्यात्ने, पार्टी कार्यालय सञ्चालनमा बाधा पार्ने, पार्टीका कार्यकर्ताहरुलाई कुटपीट गर्ने, घर भत्काइदिने, गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पार्टीभित्र आयात गरी पार्टी नेतृत्व तथा स्थानीय तहको समेत जिम्मेवारी दिई पार्टीलाई ध्वस्त पारेको विज्ञप्तिमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.