असोज ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सत्तारूढ तीन दलका भ्रातृ युवा संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्।
नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङ, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही र योङ कम्युनिष्ट लिग ९वाइसिएल० अध्यक्ष सुवोधराज सेर्पालीले बुधबार विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन्।
संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नेपालीहरू नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित भएको उनीहरूको भनाइ छ। ‘सीमित राजनीतिक पार्टीको कार्यकर्ताजस्तो भई पदको मर्यादाभन्दा बाहिर गई गरिएको कदमका विरूद्ध विरोधका कार्यक्रम गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ। उनीहरूले आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्याली गर्ने भएको छ ।

