सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिँदैछ : अध्यक्ष नेपाल

असोज ३, काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिएको बताउनुभएको छ ।

नेकपा एस निकट नेपाल मगर सङ्घको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले आगामी निर्वाचनको समानुपातिकतर्फको बन्दसूची आजसम्म निर्वाचन आयोगमा बुझाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समानुपातिकको उम्मेदवार सूची बुझाउने आज अन्तिम दिन । हामी अत्यन्तै व्यस्त छौं । कति हजार पानामा सही गर्नुपर्नेछ । धेरै क्लष्टरहरु छन् । सिङ्गो राष्ट्र चुनावको मैदानमा उभिएको छ । पाँच दलको गठबन्धनको सरकारलाई अगाडि बढाउने काम गरिसकेपछि नेपालको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भयो ।”

यसअघि २०७४ सालको चुनावपछि दुई तिहाईको अवस्थालाई राम्ररी उपयोग गर्न नसकेको एवम् चाहना, आकांक्षा बमोजिम कुनै पनि कुरा पुरा हुने लक्षण नदेखिएको बरु, नेतृत्वमा व्यक्तिवादी अहंकार, एकाधिकारवादी प्रवृत्ति देखिएको उहाँको भनाइ छ । “फलस्वरुप, यो पार्टी अघि बढ्न सकेन । कम्युनिष्ट पार्टीका नेता पुष्पलालले भन्नुभाथ्यो पार्टी नेता प्रधान हुनुहुँदैन । संगठन र सिद्धान्त रहिरहन्छ, ओलीले गुटबन्दी मात्रै गर्नुभयो, ”उहाँले भन्नुभयो । अध्यक्ष नेपालले एकीकृत समाजवादी त्याग, समर्पणको भावनाले देश र जनतालाई रुपान्तरण गर्ने सोचले अगाडि बढ्न चाहेको र विकृति, विसङ्गति अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयो । साधन र स्रोतको अधिकतम सदुपयोग गर्दै जनताको सेवामा समर्पित हुने र समाज परिवर्तन गर्नु राजनीतिमा होमिएको बताउनुभयो ।

उहाँले अल्पसङ्ख्यक, दलित, मधेशी, थारु र आदिवासी जनजाति सबैको हित र कल्याणको पक्षमा पनि समर्पित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महिला र पुरुष समान हुन् भन्ने कुरा स्थापित गर्दै संविधानमा भएका विभिन्न प्रावधान कार्यान्वयन हुनुपर्ने धारणा राख्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.