बुटवलको होटेलमा पुरुष र युवती मृत फेला

साउन ३०, बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत अवस्थामा फेलापरेका छन् । तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेलापरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५÷ ३६ वर्षका सिताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेलापरेका हुन् । भुजेल धादिङको कुमपुरका रहेको र युवतीको नाम पुष्पा भनिए पनि थर र पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । तन्ना र तौलियामा रगत पोतिएको देखिएकोले भुजेलले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक घिमिरेले बताए । घटनाबारे अरू कुरा थप अनुसन्धानपछि खुल्ने उनले बताए । उनका अनुसार उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए ।

उनीहरूका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.