यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार डा. महावीर पुनलाई

साउन २५, काठमाडौँ । यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक डा. महावीर पुनलाई प्रदान गरिने भएको छ ।

बुधबार दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा दाहालको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गरिने घोषणा भएको हो । पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्वासेले जानकारी दिनुभयो । पुन देश बाहिर रहनुभएकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ । दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो । संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ । अक्षयकोशको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो । त्यस्तै दाहाल यज्ञनिधिले लामो समय शिक्षण गर्नुभएको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा दिइने निर्णय गरिएको छ ।

कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, श्रवण मुकारुङ, प्रह्लाद पोखरेल, धिरेन्द्र प्रेमर्षि, अभय श्रेष्ठ, अनिल पौडेल, गोविन्द नेपाल, सूर्यप्रसाद डुम्रे, डम्बर घिमिरे, प्रकाश सिलवाल, त्रिभुवनचन्द्र वाग्ले, भावकेशर बराल, गोविन्द आचार्य, पारु तिमल्सिना, गीता सापकोटा, मुना बोहोरा, श्रीतेष थापाले कविता वाचन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि दिवसले यसरी एउटा स्रष्टालाई निरन्तर सम्झनेगरी संस्थाको जन्म भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्नुहुँदै सदनका अध्यक्ष सुधा दाहालले दाहाल यज्ञनिधिको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको जानकारी गराउनुभयो । ‘‘मैले उहाँलाई गुमाए । यो म एक्लो भएको दिन हो । अरु केही गर्न नसकेपछि उहाँको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको हो’’, अध्यक्ष दाहालले भन्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.