सुनकोसी गाउँपालिकाले जन्मँदा एक हजार, मृत्युमा पाँच हजार उपलब्ध गर्ने

भदौ ४, ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोसी गाउँपालिकाले शिशु जन्मँदा एक हजार र मान्छेको मृत्यु हुँदा प्रतिपरिवार पाँच हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

बाटो खर्च बापत जन्मँदा एक हजार र मृत्युपछि गरिने संस्कार (किरिया) खर्च बापत गाउँपालिकाले प्रतिमृतक परिवार पाँच हजार रुपियाँ उपलब्ध गराउनेभएको हो । आफ्नो गाउँपालिकाका क्षेत्रका नागरिकको विभिन्न दुर्घटनाका कारण वा अन्य जे कारणले मृत्यु भए पनि मृतकको काजकिरिया गर्न परिवारलाई आर्थिक बोझ नहोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागेको हो । केही समय अगाडि सम्पन्न भएको गाउँपालिकाको पहिलो गाउँ सभामा उक्त प्रस्ताव पारित भएपछि सो रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा तामाङले पेस गरेको बजेटमा गाउँ सभाबाट पारित निर्णयमा मृत्युपछि हरेक मृतकका परिवारलाई संस्कार खर्चबापत पाँच हजार नगद उपलब्ध गराइने उल्लेख गरिएको छ । समुदायमा चल्दै आएको परम्परागत संस्कार, संस्कृति जोगाउन तथा आर्थिक स्तर कमजोर भएका व्यक्तिलाई सहयोग पु¥याउने हेतुले यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । ओखलढुङ्गाका आठ स्थानीय तहमध्ये यस्ता खाले कार्यक्रम ल्याउने सुनकोसी गाउँपालिका सम्भवतः पहिलो स्थानीय तह बनेको छ । जिल्लामा रहेको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमध्ये सुनकोसी गाउँपालिकाले नागरिकको हितमा महìवपूर्ण कार्यक्रम ल्याएको छ । यो प्रस्ताव गाउँपालिकाको सभाले पास गरेसँगै गाउँपालिका क्षेत्रभित्र रहेका र बिहान बेलुका छाक टार्न नै धौ–धौ पर्ने स्थानीय नागरिकलाई राहत पुग्ने अपेक्षा लिइएको छ ।

त्यस्तै गाउँपालिकाले गाउँपालिकाभित्र काममा लगाइने मजदुरको न्यूनतम ज्यालासमेत निर्धारण गरेको छ । गाउँ सभाले दैनिक तीन सय रुपियाँभन्दा कम र मासिक रूपमा नौ हजारभन्दा कम रकम दिएर ज्यालादारीमा काम लगाउन नपाइने नीति ल्याएको हो । स्थानीय स्तरमा रहेका विभिन्न ज्याला मजदुरीको काम गर्ने मजदुरको श्रम शोषण गर्ने गरेको पाइएपछि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । देशैभरि स्थानीय तहले जथाभावी रूपमा स्थानीय नागरिकको ढाड सेकिनेगरी कर उठाउने निर्णय गरेको तथा कर उठाइरहेको विषयमा विरोध भइरहेको बेला सुनकोसीमा भने सुत्केरी महिलालाई एक हजार दिने निर्णय गरेको छ । गाउँपालिकाले नवजात शिशुको जन्मपछि गरिने स्याहार खर्च एक हजार रुपियाँ दिने निर्णय गरेको हो । शिशुको स्याहार गरेर राम्रो पालनपोषण गर्न प्रोत्साहन गर्ने उद्देश्यले शिशुको जन्मदर्ता गरेपछि एक हजार दिइने नीति पास गरिएको गाउँपालिकाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.