भदौ ४, काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्याबारे छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन साउन १६ गते प्रधानमन्त्रीलाई बुझाएको छ ।
एक सय दिन लामो अनुसन्धानबाट प्राप्त उपलब्धीलाई समेटेर समितिले ७५२ पृष्ठ लामो प्रतिबेदन प्रधानमन्त्रीको हातमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला प्रतिवेदन अध्ययनको काम गरिरहेका छन् । समितिले उक्त प्रतिवेदन सरकारलाई बुझाईरहँदा आम जनमानसमा चासोका विषय बनेको हराएको भनिएको ३३ किलो सुन । फ्लाई दुबईको विमानबाट चुडामणि उप्रेती ‘गोरे’ को समूहले तस्करी गरेर ल्याएको ३३ किलो सुन यतिबेला रहस्यको केन्द्रमा छ । सनम शाक्य हत्याको विषयमा यतिबेला जिल्ला अदालत मोरङमा मुद्दा चलिरहेको छ ।
समितिले बुझाएको प्रतिवेदनले सुन तस्करीमा हत्या तथा सुन तस्करीमा संलग्न रहेका ७५ जना अभियुक्तहरूलाई प्रतिवादी कायम गरी मुद्दा चलाइएकोमा हालसम्म ४५ जना पक्राउ परेका र ३१ जना अभियुक्तहरू अझै फरार रहेका । पक्राउ परेका ४५ जना अभियुक्तमध्ये १ जनाको अनुसन्धानकै क्रममा हिरासतमा मृत्यु भएको, ३ भारतीय नागरिकसहित ४४ जनालाई मुद्दा चलाइएकोमा ४ जना धरौटी तथा १ जना साधारण तारेखमा रिहा भएको र बाँकी ३९ जनामध्ये ५ जना जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत र अन्य ३४ जना विभिन्न कारागारहरूमा थुनामा रहेको ।
घटनामा संलग्न ३१ जना अभियुक्तहरू फरार रहेकोमा हालसम्म ३ जना विरुद्ध रेडकर्नर नोटिस, १ जना विरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको, त्यसैगरी ८ जना विरुद्ध रेडकर्नर र १ जना विरुद्ध डिफ्युजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय, मोरङमार्फत प्रक्रिया अघि बढाइएको छ । त्यस्तै संगठित अपराधको सञ्जालमा आवद्ध रहेकाहरूमध्ये हालसम्म ३६ जना व्यक्तिको जग्गा, बैंक खाता, सेयर, फर्म तथा अन्य गरी जम्मा ९१ वटा कारोवार रोक्का गरिएको ।
गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले तीन महिला लगाएको गरेको अनुसन्धानले हराएको भनिएको सुन भने फेला र्पान सकेन् । समितिले हराएको सुन फेला नपर्नुको पछाडि तीन कारण देखेको छ । समितिले हराएको सुनलाई मृतक सानु बनको सम्पर्कमा रहेको हुनसक्ने आशंका गरेको छ । थाई एयरवेजका वरिष्ठ टेक्निसियनसमेत रहेका सानुले २०७४ माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए ।
उनले आत्महत्या गरेसँगै सुन उनले नै लुकाएको हुनसक्ने समितिले आशंका गरेको छ । त्यस्तै नेपाली सेनाबाट भागेका भगौडाहरुले पनि सुन लुटेको हुनसक्ने अनुसन्धानको क्रममा खुलेको छ । समितिले नेपाली सेनाका भगौडा समूहलाई बाहेक अर्को लुटेरा ग्याङले समेत सुन लुटेको हुनसक्ने आशंका गरेको छ । त्यस्तै प्रतिवेदनमा उल्लेख भएअनुसार समितिले सुन तस्करीमा संलग्न राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङको ग्याङले समेत सुन लुटेको हुनसक्ने आशंका गरेको छ ।
के ठूला माछा भनेका यिनै हुन् त ?
समितिको अनुसन्धानले उक्त सुन तस्करीमा राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का अध्यक्ष एवं पूर्वमन्त्री शरतसिंह भण्डारीको पनि नाम जोडिएको छ । उनलाई सुन तस्करीको सेटिङ मिलाएको समितिको दाबी छ ।
समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले अनुसन्धानको क्रममा भण्डारीको पनि संलग्नता देखिएको बताए । उनले भने, ‘अनुसन्धानको क्रममा भण्डारीले सुन तस्करीमा सेटिङ मिलाएको देखियो ।’ त्यस्तै समितिले डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टका मालिक समेत रहेका बिमल पोद्दार, राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र मोहन अग्रवाललाईसुन तस्करीमा संलग्न ठूला माछा किटान गरेको छ । प्रहरी हिरासतमा रहेका बिमलको बयानको आधारमा रामसपा अध्यक्ष भण्डारीको पनि संलग्नता रहेको पुष्टि भएको हो । भण्डारी पर्यटनमन्त्री हुँदा त्यस्तो सेटिङ मिलाइदिएको बिमलले बयान दिएपनि ठोस प्रमाण नभेटिएको भन्दै समितिले उनीमाथि छानविन गर्न नसकेको संयोजक पौडेलको भनाई छ । त्यस्तै रेष्टुरेण्ट व्यवसायी अकबर शाहलाई पनि ठूलो माछा किटान गरेको छ ।

