बालविवाह रोक्न ‘किशोरी समूह’

असार २४, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । वडा नं ३ च्यास्मिटारबाट कार्यक्रमको थालनी गरेको हो ।

नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार रुपैयाँ प्रदान गरेर कार्यक्रमको सुरुवात गरिन् । ‘अब बालविवाह रोक्न विद्यालयमा किशोरीको समूह निर्माण गरिने छ’, प्रमुख राईले भनिन्, ‘ती समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् ।’ पछिल्लो समय भागेर बालविवाह गर्ने चलन बढेकाले अभियान थालेको उनको भनाइ छ । बालविवाह रोक्नका लागि बालिका आफैं सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको बताइन् । च्यास्मिटार माविबाट परीक्षणका रूपमा सुरु गरिएको सो कार्यक्रम अन्य विद्यालयमा विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।

त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । शारीरिक र मानसिकरूपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्या आउने गर्छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.