असार २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुष्पलाल स्मृति पार्कमा स्मार्ट शौचालय बनाउने भएको छ । वडा नम्बर १८ स्थित पार्क कुल १ करोड २७ लाख लागतमा सुविधासम्पन्न शौचालय बनाउने भएको हो ।
महानगरको नगरसभाको पाँचौं बैठकले सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षको लागि ५ करोड रुपैयाँ छुट्याएको थियो । सो रकमबाट २७ लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय पनि गरिएको छ । पार्कमा स्मार्ट शौचालय बनाउनको लागि पूर्वमेयर विद्यासुन्दर शाक्यले एक करोड रुपैयाँ बजेट छुट्याएका थिए । सो बजेट अपुग भएको भन्दै शौचालय निर्माणको काम अघि बढेको थिएन ।

