असार १६, काठमाडौं । बाल यौन दुराचारको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई काठमाडौं जिल्ला अदालतले जेल चलान गरेको छ।
थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै अदालतले मुद्दाको पुर्पक्षका थुनामा पठाएको हो। जिल्ला न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश गरेको हो। पीडित बालिकाहरुको पीडकबाट सुरक्षित हुन पाउने अधिकार समेतलाई दृष्टिगत गरी अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। होस्टल वार्डेनका रुपमा खटिएका उनी आरोप लागेपछि फरार भएका थिए। प्रहरीले उनलाई जेठ २२ गते रामेछापबाट पक्राउ गरेको थियो।
गोकर्णेश्वर नगरपालिका–६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा पढ्ने १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो। सुरुमा होस्टलका वार्डेन रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई पक्राउ गरिएको थियो। सोधपुछ तथा थप अनुसन्धानका लागि सोही शिक्षालयका प्रिन्सिपलसमेत थप २ जनालाई पनि नियन्त्रणमा लिइएको थियो।

