यस्ता छन् एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकको निर्णय

असार १५, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय परिषद् बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।

सोमबार र मंगलबार काठमाडौंमा बसेको केन्द्रिय परिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दैनिक उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको बताउनुभयो ।

उहाँले बैठकले किसानहरुलाई सहज तरिकाबाट मल तथा बीउ बीजनको आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन सरकारसँग आग्रह गरेको पनि बताउनुभयो । बैठकले महिला तथा बालबालिकाहरुमाथि भइरहेको यौनिक हिंसा तथा सामुहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानूनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाहरुको उचित संरक्षण, उपचार, पुनः स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभुतिका लागि सरकारसँग माग गरेको छ ।

प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न स्थानहरुमा झाडापखालाका बिरामी देखिन थालेकोप्रति सजग हुँदै झाडापखाला रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्नेकुरा प्राथमिकतामा राख्ने लगायतका १७ वटा निर्णय गरेको बताउनुभयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.