जेठ २७, काठमाडौं । मासु र दूग्धजन्य उत्पादन वृद्धिका लागि प्रदेश सरकारले ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ । विश्व बैकंको ऋण सहयोगमा सञ्चालित नेपाल लाइभ सेक्टर इनोभेसनले इलाममा आयोजना गरेको कार्यक्रममा प्रदेश १ को कृषि मन्त्रालयका सचिव मेगनाथ तिमिल्सिनाले मासु तथा दूग्धजन्य उत्पादन वृद्धिका लागि प्रदेश सरकारले ७५ प्रतिशतसम्म अनुदान दिने बताए
उनले सरकारी तवरबाट खासै काम गर्न नसकिएको र दूध, पाठापाठी बाहिर पठाउन सहयोग गरिने पनि उनले बताए । “मासु र दूधको उत्पादन वृद्धि गर्नेलाई ७५ प्रतिशतसम्म अनुदान सहयोग गर्ने नीति तय गरेका छौँ, उनले भने । विश्व बैंकको सहयोगमा सञ्चालित नेपाल लाइभसेक्टर इनोभेसन आयोजनाले किसानहरूलाई सामूहिक रूपमा वा सहकारीका माध्यमबाट कृषि व्यवसाय गर्न ५० प्रतिशत अनुदान दिइरहेको छ । दूध र मासुको उत्पादकत्वमा आत्मनिर्भर बनाउने योजना रहेको आयोजना प्रमुख डा। उमेश दाहालले जानकारी दिए । उनले अनुदान परियोजना सञ्चालनबाट दूधमा ४० र मासुमा २० प्रतिशत उत्पादन वृद्धि हुने अपेक्षा रहेको बताए ।
यस आयोजनाबाट ५ प्रदेशका २८ जिल्लामा २८९ पालिकाहरूमा फर्महरू सञ्चालित छन् । यस परियोजनाको कुल लगानी भने ८७ मिलियन डलर रहेको बताइएको छ ।

