जेठ २५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताए । आज सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतका श्रष्टाहरुकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताए ।
उनले भने, “नेपाली गीत, सङ्गीतका श्रष्टा सर्जकले सङ्गीत सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुका गीत सङ्गीतले राष्ट्र बलियो भएको छ।” मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा सर्जकको हकअधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराए।
गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई आफूले सधैँ सम्मान गर्दै आएको र उहाँलाई आवश्यक पर्ने सहयोगका लागि आफू सधैँ तयार रहनेसमेत मन्त्री आलेको भनाई थियो। उनले भने, “गीत, सङ्गीत तथा कला भनेका देश चिनाउने गहना हुन्, म त्यसको सम्मान गर्छु, आवश्यक पर्ने सहयोगका लागि म सधैँ अग्रसर रहने छु।” उक्त कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गर्न सहज पुर्याएको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीलाई स्मरण गर्दै उनकी धर्मपत्नी एवं सांसद विद्या भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।

